आशमायालाई ६२ वर्षअघिको फोटो, “अहिलेका छोरी बुहारीलाई कम्मरमा गाग्री बोक्न समेत आउँदैन….”

Thankot Times

थानकोट, चैत्र २५ ।

चैत्र पहिलो साता थानकोटमा पहिलो पटक आयोजना भएको चन्द्रागिरि नगर क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनीमा देखाइएका १ सय २० वटा पुराना तस्बिरहरू मध्ये एक तस्बिरमा केही किशोरीहरू पिङ खेलिरहेको देख्न सकिन्थ्यो । पृष्ठक्षेत्रमा इन्द्रस्थान देखिएको उक्त तस्बिरमा पिङ खेलिरहेका केहि बालिका एवं किशोरीहरूको अनुहार प्रस्ट देख्न सकिन्थ्यो । जानकारहरूका अनुसार उक्त तस्बिर हालको पिम्फली खेल मैदान नजिकैबाट खिचिएको रहेछ ।

विलियम मोरिसले सन् १९५९ (वि.संं २०१६) को दशैंमा थानकोट क्षेत्रमा खिचेको तस्बिरमा पिङ खेल्ने को थिए भन्ने विषयमा फोटो प्रदर्शनीका सहभागिहरूले निकै चासो देखाएपछि पत्ता लाग्यो पिङ खेलिरहेका किशोरीहरूको हुलमा एक जना आशमाया गोपाली पनि हुनुहुँदो रहेछ ।

कार्यक्रममा आशमायाका नातिले आफ्नी बज्यैको पुरानो फोटो देखेपछि घरमै पुगेर बोलाएर ल्याए । प्रदर्शनीमा आशमायाले त्यो फोटोमा आफु पनि रहेको बताएपछि सहभागिहरूले ताली बजाए । अनि कार्यक्रम हेर्न आउनेहरूले उक्त फोटोका बारेमा केहि बोलिदिन आग्रह गरे ।

वि.संं २००० सालमा थानकोटमै जन्मनुभएकी आशमायाका अनुसार उहाँकी आमाले हातले बुनिदिएको कपडाका कारण आफुलाई पुरानो फोटोमा पहिचान गर्न सकेको बताउनु भयो ।

केही दिन अघि  पुरानो चन्द्रागिरि फोटो प्रदर्शनीका आयोजक आशमायाको घरमा पुगे । पूर्व जानकारी गराएर आशमायाको घरमा पुग्दा आशमाया फुर्सदिलो देखिनुहुन्थ्यो अन्यथा उहाँको नित्य स्थानीय विहारमा दर्शनका लागि जाने तालिका हुन्थ्यो ।

६२ वर्वषअघि खिचिएको फोटो उपहार दिँदै उहाँलाई आयोजकले केही बोलिदिन अनुरोध गरे । नेपाली र नेपाल भाषामा छ्यास मिस गर्दै आशमायाले आफु १६ वर्षको हुँदा कसैले खिचिदिएको फोटो हेर्दै पिङ खेल्न त्यो बेला थानकोटका विभिन्न क्षेत्रमा पुग्ने गरेको अनुभव स्मरण गर्नुभयो । त्यो बेला कसैले फोटो खिचेको आफूलाई कुनै याद नै नभएको उहाँको प्रतिक्रिया थियो ।

६२ वर्षअघि थानकोट गाउँका तीन ठाउँमा पिङ हालिन्थे जुन गोदाम, पिम्फली र ढुंगेधारामा । त्यो बेला पिङ खेल्न बालबच्चाको निकै भीड हुने उहाँले स्मरण गर्नुभयो । अहिले पनि आफूलाई पिङ खेल्न रहर लाग्ने गरेको तर पिङ खेल्ने ठाउँसम्म जान नसक्ने उहाँले बताउनुभयो ।

“मैले त्यो बेला टोलका समान उमेरका केटा साथीहरूसँग गुच्चा समेत खेल्ने गरेको थिएँ” आशमायाले स्मरण गर्नुभयो । केटाहरूसँग गुच्चा खेल्दा आफूले निकै पैसा जित्ने गरेको र त्यो पैसा घरमा आमालाई दिएको बताउनुभयो । पैसा चाँही तामाको हुन्थ्यो उहाँले थप्नुभयो ।

नातिनातिना भइसकेका आशमायालाई त्यो बेला र अहिलेको दशैंमा कति अन्तर आयो होला भनेर सोध्दा उहाँले हाँस्दै भन्नुभयो हामीलाई दशैंको बेलामा घरमा नबसेको, साथीहरूसँग बाहिर बरालिएको भनेर बा आमाले कराउनुहुन्थ्यो, म जेठी छोरी भएको हुँदा कुट्नु चाँही हुन्नथ्यो । अहिलेका बच्चाहरू मोबाइलमा घोप्टो परेपछि बोलाएको पनि सुन्दैनन्, पिङ, चंगा, गुच्चा भन्ने बिर्सेलान् जस्तो लाग्छ । जमाना कस्तो थियो अहिले कस्तो देख्न पर्यो ।

हामीलाई कति दुःख थियो, पानी बोक्न कहाँ कहाँसम्म पुग्न पर्थ्यो, अहिले भान्छा मै पानी आउँछ र पनि छोरी बुहारीले दुःख भयो भनेको सुन्दा म अच्चम मान्छु । अहिलेका छोरी बुहारीलाई कम्मरमा पानी बोक्न समेत आउँदैन….

हामी पत्कर, घाँस, दाउरा ल्याउन अहिले डाँडामा केबलकार भएको ठाउँसम्म जान पर्थ्यो, हाम्रो जमानाको दुःख सुनाउँदा अहिले बुहारीहरूलाई कथा लाग्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *