प्रधानमन्त्री शेरबहादुर देउवा आज चन्द्रागिरि आउनुहुने
थानकोट, चैत्र ९ ।
सरकारले आजदेखि पर्वतीय समस्याहरूको दिगो समाधानका लागि नीतिगत बहस गर्ने भएको छ ।
वन तथा वातावरण मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय पर्वतीय वर्ष २०२२ अन्तर्गत नेपालले दुई दिने क्षेत्रीय बहस कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।
बहसमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा विभिन्न कार्यपत्रहरू प्रस्तुत हुने मन्त्रालयले जनाएको छ । कार्यपत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउनुपर्ने पर्वतीय मुद्दाका विषयहरूलाई बुँदागत रुपमा प्रस्तुत गरिनेछन् ।
संयुक्त राष्ट्रसङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास बर्ष मनाउने निर्णय गरेसँगै नेपालले पनि यस वर्ष विभिन्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय वर्ष २०२२ अन्तर्गत नेपालले मुस्ताङमा पर्वतीय सम्मेलन गर्ने लगायतका कार्यक्रमहरू तय गरेको मन्त्रालयले जनाएको छ ।
चन्द्रागिरि हिल्समा आजदेखि हुने क्षेत्रीय बहसको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।