अब पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ, डिजेल मट्टीतेल लिटरको १३८ रूपैयाँ

Thankot Times

थानकोट, चैत्र ३ ।

गएराति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको थियो।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० ले वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

मूल्य वृद्धि भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५१ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ।

मूल्य वृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब चार अर्ब ६६ करोड रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ। सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ।

आईओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *