अघि बढ्यो नागढुंगा-नौबिसे-मुग्लिङ सडक विस्तार, साढे ६ अर्बमा लाग्यो ठेक्का

Thankot Times

थानकोट, चैत्र १ ।

उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका नागढुंगा-नौबिसे-मुग्लिङ सडक खण्डको स्तरोन्नतिका लागि ठेक्का लागेको छ। प्राविधिक मूल्यांकन सकिएको ५ महिनापछि सडक विभाग अन्तर्गत रहेको विकास सहायता कार्यान्वयन महाशाखाले ठेक्का लगाएको हो।

नागढुंगा-नौबिसे खण्ड १२.२६ किलोमिटरको ठेक्का एम/एस जियाङसु-सगुन जेभी र नौबिसे-मलेखु खण्ड ४३.५४२ किलोमिटरको ठेक्का शर्मा-लामा-जेडआइसीजी जेभीले साढे ६ अर्बमा पाएको जानकारी दिएको छ।

महाशाखाका अनुसार नागढुंगा-नौबिसे खण्डका लागि एक अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा र नौबिसे-मलेखु खण्डका लागि ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा चिनियाँ कम्पनीसँग नेपाली कम्पनी जेभी (संयुक्त लगानी) मा ठेक्का पाएका हुन्।

नागढुंगा-नौबिसे-मुग्लिङ सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार यस आयोजनको ठेक्का पाउने निर्माण कम्पनीले ३ वर्षमा सडक विस्तारको काम सम्पन्न गर्नु पर्नेछ।

यो आयोजनाका लागि सडक विभागले चासो देखाएको धेरै समय भइसकेको थियो। सडक विभागले साँघुरो नागढुंगा-नौबिसे-मुग्लिङ सडक खण्डलाई नारायणघाट-मुग्लिङ सडक खण्ड जस्तै फराकिलो बनाउन लागिएको बताउदै आएको थियो। सोही अनुसार ठेक्काको प्रक्रिया पुरा गरेको छ।

प्रमुख कार्कीले परामर्शदाता (कन्सल्ट्यान्ट) को स्वीकृति समयमा नभएको कारण ठेक्काको आर्थिक प्रस्ताव खोल्ने काम ढिला भएको बताए। ‘परामर्शदाताको स्वीकृति बिना ठेक्का लगाउदा पछि समस्या आउने भएकाले समय लागेको हो,’ उहाँले भन्नुभयो, ‘यो आयोजना विश्व बैंकको ऋण सहयोगमा निर्माण हुने भएकाले सबै कुराको रित पुर्‍याएर काम गर्नुपर्ने हुन्छ।’

यहाँबाट हामीले भनेको जसरी मात्र काम गर्न मिल्दैन सबै प्रक्रिया विश्व बैंकले हेरेर स्वीकृति पठाएपछि मात्र अरु काम गर्न मिल्ने उहाँले बताउनुभयो ।

परामर्शदाताबाट आएको आर्थिक प्रस्तावको स्वीकृति विश्व बैंक पठाएको थियो। त्यसैगरी बैंकको ‘नो अब्जेक्सन लेटर’ आएपछि ठेक्काको सम्झौता प्रक्रियामा लगिएको प्रमुख कार्की बताउँछन। ‘बैंकबाट निर्णय आएपछि मात्र ठेक्काको आर्थिक प्रस्ताव सार्वजनिक गरिएको हो। साथै सम्झौताको काम अघि बढाउन बाटो खुलेको छ,’ उहाँले भन्नुभयो, ‘अबको एक महिना जतिमा मात्र सम्झौता गरेर कन्ट्रयाक्टरले काम सुरु गर्न सक्नेछन्।’

तीन योजनामध्ये नौबिसे-मलेखु र नागढुंगा-नौबिसे खण्ड निर्माणका लागि प्रारम्भिक सूचीमा परेका थिए। यस दुई योजनाका लागि ठेक्का आह्वान गरिएकोमा प्राविधिक मूल्यांकनमा पास भएका सम्बन्धित कम्पनीसँग आर्थिक प्रस्ताव माग गरेको ५ महिना भइसकेको थियो। नौबिसे-मलेखु र नागढुंगा-नौबिसेका लागि ३२ र १४ कम्पनी प्रारम्भिक सूचीमा परेका थिए।

‘प्राविधिक छनोटमा परेका पहिलो खण्डका लागि १८ र दोस्रो खण्डका लागि १२ वटै कम्पनीसँग असोजमा नै आर्थिक प्रस्ताव माग गरिएको थियो। कम्पनीहरुले कात्तिक २५ गतेसम्म आर्थिक प्रस्ताव बुझाउनु पर्ने थियो,’ कार्कीले भन्नुभयो, ‘सबैभन्दा कम रकममा सडक विस्तारको प्रस्ताव पेस गर्ने कम्पनीले निर्माणको जिम्मा पाउने हाम्रो खरिद ऐेनमा व्यवस्था छ।’

सोहीबमोजिम नेपाली कम्पनीले यस आयोजनाको काम गर्न नसक्ने भन्दै ठेक्काका लागि चिनियाँ र भारतीय कम्पनीले आर्थिक प्रस्ताव पेस गरेका थिए। ‘तेस्रो खण्ड मलेखु-मुग्लिनको भने पूर्व-योग्यता मूल्यांकन विश्व बैंकलाई पठाइएको पनि उहाँले बताउनुभय। ‘त्यसको नो अब्जेक्सन आएपछि मात्र अरु काम गर्न बाटो खुल्छ,’ उहाँले भन्नुभयो, ‘हामीले चाहेर मात्र हुँदैन बैंकको प्रक्रिया लामो छ।’

परामर्शदाता छनोट

नागढुंगा-नौबिसे-मुग्लिङ सडक विस्तारका लागि परामर्शदाता कोरियन र अस्ट्रेलियन जेभी कम्पनीलाई छनोट गरिएको छ। नागढुंगा-नौबिसे-मुग्लिन सडक र पुलहरुको सुधार तथा फराकिलो निर्माण पर्यवेक्षणको लागि परामर्श सेवाका लागि ठेक्का आह्वान गरेको थियो।

सडक विभागले एम/एस एसएपईसी इन्टरनेशनल पीटीवाई लिमिटेड अस्ट्रेलियन र प्युङघवा इन्जिनियरिङ कन्सल्टट्यान्टस् लिमिटेड कोरिया जेभीलाई २८ करोड ५४ लाख ८७ हजार ७ सय रुपैयाँमा परामर्शदाता छनोट  गरेको जानकारी दिएको छ।

कम्पनीले सडक विस्तारको ३ वर्षसम्म परामर्शदाताको काम गर्नुपर्नेछ। यो सबै प्रक्रिया एसियाली विकास बैंकले नै गरिरहेको छ।

चार लेनको हुने  

पृथ्वी राजमार्गलाई व्यापारिक सडकका रूपमा राखिएको छ। काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली स्ट्यान्डर्डअनुसार विकास गर्न खोजिएको हो।

मुग्लिङ-नागढुंगा क्षेत्रमा पर्ने करिब ९६ किलोमिटर लामोसडक खण्डलाई ३ वटा चरणमा विभाजन गरेर स्तरोन्नति गर्न लागिएको छ। जसमा नौबिसे-मलेखु ४३।५२ किलोमिटर बिस्तार गरिने छ। त्यस्तै नागढुंगा-नौबिसे १२।६२ किलोमिटर र मलेखु-मुग्लिन ४० किलोमिटर बिस्तारको योजना छ।

नागढुंगा-नौबिसे खण्ड ३ लेनको हुनेछ। मालबाहक सवारीलाई ठाडो उकालोमा सहजता होस् भनेर एउटा थप डेडिकेटेड लेन बिस्तार गर्न लागिएको छ। ‘बस्ती तथा बजार भएका स्थानमा सडक ४ लेनको हुनेछ। साथै सर्भिस लेन निर्माण गरिने छ, ताकि सर्वसाधारणलाई आफ्नो साधनहरु आवतजावत गर्न सजिलो होस्,’ प्रमुख कार्कीले भन्नुभयो।

विभागले गरेको डिजाइनअनुसार मुग्लिङ-नागढुंगा खण्डमा २१ वटा पुलको निर्माण हुनेछ। ‘पुल सबै चार लेनको हुनेछन्। हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाइ अनुसार नै छेउमा पुल निर्माण गरिने छ। बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहज बनाउन १० वटा आकाशेपुल पनि निर्माण गरिनेछ,’ सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेलले भन्नुभयो।

१९ अर्ब विश्व बैंकको ऋण सहयोग

यो सडक स्तरोन्नति गर्न करिब १९ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। अब हुने मुग्लिङ-नागढुंगा सडक विस्तारको काम पनि विश्व बैंकको ऋण सहयोगमा गर्न लागिएको हो। सडक विस्तार गर्न ऋण लेनदेनको सहमति भइसकेको छ।

‘यसका लागि नपुग रकम नेपाल सरकारले खर्च गर्नुपर्नेछ। सडक स्तरोन्नति गर्न डिजाइन तयार पारिसकेको छ। परामर्शदाता आईसीटीले सडकको डिजाइन २०१८ मा नै तयार गरेको हो,’ पोखरेलले भन्नुभयो।

यस सडक बिस्तारको काम कहिलेसम्म सकिन्छ भन्ने टुंगो भने ठेक्काको सम्झौता भएपछि मात्र थाहा हुने पोखरेलले बताए। प्रायःजसो निर्माणको ठेक्का २ वर्षदेखि ३ वर्षको अवधिमा सम्पन्न गर्ने गरी सम्झौताहुने गरेको उनको भनाइ छ।’यसको ठेक्का पनि ३ वर्षभित्र निर्माण काम सक्ने गरी सम्झौता गरिने छ,’ पोखरेलले भन्नुभयो।

मुआब्जा तथा क्षतिपूर्तिमा २२ करोड

जग्गाको मुआब्जा दिने भन्दा पनि घरटहराको रकम २२ करोड दिनुपर्ने मूल्यांकनको क्रममा देखिएको आयोजना प्रमुख कार्कीले बताए। ‘यो रकम बढ्न सक्छ,’ उहाँले भन्नुभयो, ‘बाटो सिधा बनाउनका लागि गोमती र खहरे खोलाको पुलको एलाइन्मेन्ट परिवर्तन गरिँदै छ। त्यसमा व्यक्तिको जग्गा दुई ठाउँमा पर्दछ।’

प्रमुख कार्कीको भनाइअनुसार यो जग्गाको पनि मुआब्जा दिदा रकम थोरै बढ्छ। इआइको प्रतिवेदनअनुसार ७८ वटा घरटहराहरु बाटोमा पर्ने कार्कीले बताए। ‘तर हामीले त्यसको पनि प्रमाणीकरण गर्दैछौं,’ उहाँले भन्नुभयो, ‘प्रमाणीकरणको समयमा यो संख्या घटबढ हुन सक्छ।’ यसका लागि आयोजनाले एउटा मूल्यांकन समिति गठन गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *