थानकोटमा भेटिए काठमाडौंको भोटेबहालस्थित स्कूलबाट बेपत्ता भएका २ बालिका

Thankot Times

थानकोट, फागुन २८ ।

काठमाडौंको भोटेबहालस्थित एक निजी स्कूलबाट घर फर्किने क्रममा हराएका बालिकाहरुको प्रहरीले सकुशल उद्धार गरेको छ।

काठमाडौं महानगरपालिका–२३ भोटेबहाल लगनस्थित ईपीएस बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत नाबालिका  दीपिका श्रेष्‍ठ र श्रीलेखा सामन्त शुक्रबार स्कूलबाट बाहिरिए पनि घर पुगेका थिएनन्।

बालिकाहरु सम्पर्कविहीन भएपछि परिवारले शुक्रबार साँझ ५:२० बजेतिर प्रहरीलाई खबर गरेको थियो। दुई जना बालिका हराएको खबरपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट तत्काल प्रहरी टोली परिचालन भएको थियो। साथै, महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट उपत्यकाका सबै प्रहरी युनिटलाई बालिकाहरुको तस्बिर सम्प्रेषण गरी सबै नाकामा कडा चेकजाँच गर्न निर्देशन जारी भएको थियो।

खोजीका क्रममा दुई बालिका थानकोटबाट चन्द्रागिरी जाने बाटोमा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश राज मैनालीले जानकारी दिनुभयो।

बालिकाको खोजीका लागि महानगरीय प्रहरी वृत्त थानकोटबाट परिचालन भएको प्रहरी टोलीले शुक्रबार राति ८ बजेको समयमा थानकोटबाट चन्द्रागिरी जाने बाटोमा दुई बालिका फेला पारेको हो।

मैनालीका अनुसार शुक्रबार राति नै अभिभावकहरु दीपक श्रेष्ठ र सुदिप सामन्तलाई बोलाएर महानगरीय प्रहरी वृत्त जनसेवाबाट दुवै बालिकालाई जिम्मा लगाइएको छ।

बालिकाहरु बेपत्ता भएको घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताउनुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ