नागढुङ्गामा १९ वर्षीय किशोर लागुऔषधसहित समातिए
थानकोट, फागुन २७ ।
चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा बिहीबार एक हजार २०० एम्पुल लागुऔषधसहित १९ वर्षीय किशोर पक्राउ परेका छन् ।
उनको साथबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–२० बस्ने उनलाई कसैले लागुऔषध बोकाएर पठाएको अनुमान गरिए पनि कारण भने खुलेको छैन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तस्बिर नागढुङ्गा प्रहरी प्रभाग