बलेफी हाइड्रोपावरकाे आईपीओ बिक्री खुल्ला
थानकाेट ।
बलेफी हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रूपैयाँ मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकाे हाे ।
निष्कासन गरेकाे सेयरमध्ये कुल निष्कासनको चार प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गररेर बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेकाे कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि सेयरको निष्कासन तथा बिक्री खुला गरी बाँडफाँडसमेत गरिसकेको छ । कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले आजदेखि छिटोमा चैत २१ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे यही महिनाको ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने जनाएकाे छ ।
कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ ।
निष्कासित सेयरमा नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।