चन्द्रागिरि नगरपालिका अब आफ्नै घरमा
चन्द्रागिरि नगरपालिकाले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ।
जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले सोमबार आयोजित एक समारोहबीच संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको छ। वि.सं २०७६ मङ्सिर ११ गते सो भवनको शिलान्यास भएको थियो ।
उपत्यकाको मौलिक, सांस्कृतिक एवम् कलात्मक आँखीझ्याल शैलीमा नवनिर्मित ६ तल्ले भवनबाट अब नगरको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह हुनेछ।
भवनबाट पशु सेवा कार्यालय बाहेक अन्य सेवा नगरबासीले एकीकृत रूपमा पाउने छन्। यसअघि नै पशु सेवा कार्यालयको भवन १ करोड ५७ लाख रुपैयाँ लागतमा सम्पन्न भइसकेको जनाइएको छ।
चन्द्रागिरि-१२ गुर्जुधारामा रहेको ७ रोपनी जमिनमध्ये ३ रोपनीमा प्रशासकीय भवन बनेको छ भने ४ रोपनी क्षेत्रमा बाहिरी बगैंचा लगायतको संरचना निर्माणाधीन छन्।
बाल, जेष्ठ नागरिक र अपाङ्गता मैत्री नवनिर्मित भवन अधिकांश नगरबासीलाई पायक पर्ने स्थानमा बनेको नगरबासीको ठम्याइ छ।
भूकम्प प्रतिरोधी र अग्नी नियन्त्रक उपकरण जडित सो भवनमा करिब २०० जना क्षमताको सभा हलसहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनी मिटिङ हल’ छन भने भवनमा ‘अण्डरग्राउण्ड पार्किङ’ छ।
जिसस र नगरपालिकाको संयुक्त साझेदारीमा २५ करोड रुपैयाँ लागतमा भवनसहित बाहिरी आकर्षक बगैंचा सम्पन्न हुने तरखरमा छ ।
सो रकममध्ये समन्वय समितिको १० करोड रुपैयाँ र बाँकी नगरपालिकाको आन्तरिक स्रोत रहेको जनाइएको छ।